• News
  • कोप–३१ मध्यावधिमा पुग्दा जलवायु वार्ता छिटो...

कोप–३१ मध्यावधिमा पुग्दा जलवायु वार्ता छिटो टुंग्याउन राष्ट्रसंघीय जलवायु प्रमुखको आग्रह

कोप–३१ मध्यावधिमा पुग्दा जलवायु वार्ता छिटो टुंग्याउन राष्ट्रसंघीय जलवायु प्रमुखको आग्रह

Climate News Nepal
आइतवार, कार्तिक ३० २०८३
  • संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१ औँ सम्मेलन (कोप–३१) मध्यावधिमा पुगेसँगै संयुक्त राष्ट्रसंघका जलवायु प्रमुख साइमन स्टिलले वार्तालाई तीव्रता दिन र रणनीतिक ढिलाइ नगर्न वार्ताकारहरूलाई आग्रह गरेका छन् । टर्कीको तटीय शहर अन्टाल्यामा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्टिलले जलवायु परिवर्तनका जटिल मुद्दामा सहमति जुटाउन सबै पक्षले लचकता र सम्झौताको भावना देखाउनुपर्ने बताएका हुन् । उनले वार्ताका क्रममा प्रत्येक शब्द र वाक्यमा सहमति जुटाउनु कठिन भएपनि सामूहिक उपलब्धिका लागि त्यो आवश्यक रहेको बताए । सबै पक्षबीच सम्झौता र सहकार्य हुन नसके साझा सफलता सम्भव नहुने उनको भनाइ छ । 
    स्टिलले भने, ‘प्रत्येक शब्द र प्रत्येक वाक्यमा सहमति जुटाउनु कठिन तर महत्वपूर्ण काम हो । सबै पक्षले सम्झौता र लचकता नदेखाए सामूहिक सफलता सम्भव हुँदैन ।’
    उनकाअनुसार कोप–३१ मा व्यावहारिक जलवायु पहलहरूले गति लिइरहेका छन् । अन्तर्राष्ट्रिय सम्झौता र वास्तविक अर्थतन्त्रबीचको दूरी कम गर्दै स्वच्छ ऊर्जा, जलवायु प्रतिरोधी पूर्वाधार, हरित उद्योग र विपद् उत्थानशीलताका क्षेत्रमा काम अघि बढाउनुपर्ने उनले बताए । जलवायु परिवर्तनविरुद्धको अभियानलाई सफल बनाउन सरकारी तहका सम्झौता र नीतिमा मात्रै सिमित नराखी विश्वभरका अर्बौँ मानिसको दैनिक जीवनसँग जोड्नुपर्नेमा पनि उनले जोड दिए । खेलकुद, मनोरञ्जन र संस्कृतिजस्ता क्षेत्रमार्फत जलवायु परिवर्तनका असर र त्यसको समाधानबारे सर्वसाधारणलाई जोड्न सकिने उनको भनाइ छ । 
    स्टिलले भने, ‘जलवायु परिवर्तनका असर र त्यसका समाधानलाई मानिसका आधारभूत आवश्यकतासँग जोड्न हामी अझ प्रभावकारी हुनुपर्छ। राम्रो स्वास्थ्य, रोजगारी र सस्तो तथा भरपर्दो ऊर्जाजस्ता आवश्यकतासँगै उनीहरूले मन पराउने खेलकुदजस्ता विषयसँग पनि जलवायु अभियान जोड्नुपर्छ ।’
    सोमवारदेखि शुरु भएको कोप–३१ दुई सातासम्म सञ्चालन हुनेछ । आगामी नोभेम्बर २० सम्म चल्ने सम्मेलनले जलवायु परिवर्तनविरुद्धका प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्ने लक्ष्य राखेको छ । विशेषगरी विकासशील राष्ट्रका लागि जलवायु वित्त विस्तार, जलवायु अनुकूलनका कार्यक्रम प्रभावकारी बनाउने र स्वच्छ ऊर्जातर्फको संक्रमणलाई तिब्रता दिने विषय सम्मेलनका प्रमुख एजेन्डा रहेका छन् । सम्मेलनको मध्यावधिसम्म आइपुग्दा वार्ताकारहरूलाई कठिन विषयमा छिटो सहमति जुटाउन गरिएको आग्रहले बाँकी अवधिमा जलवायु वित्त, अनुकूलन र ऊर्जा संक्रमणसम्बन्धी निर्णयलाई विशेष महत्व दिने देखिएको छ ।
    सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

    लोकप्रीय

    © 2026 All right reserved to climatenewsnepal.org  | Site By : sobij