प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको फँडानी हुनु नहुने बताउनुभएको छ
शनिवार काठमाडौंमा दोस्रो राष्ट्रिय वन संवद्र्धन गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विकास र वातावरणमा सन्तुलन जरुरी रहेको बताउँदै वन क्षेत्रमै सालघारी फँडानी गर्न नहुने बताउनु भयो । उहाँले पञ्चायतलाई जिताउन तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले ०३६ सालमै वैज्ञानिक वन व्यवस्था भनेर सालघारी फँडानी गरेको आरोप लगाउनु भयो । उहाँले वैज्ञानिकताको नाममा गरिएको सालघारी फँडानीको बिरोध आफूहरुले गरिरहेको बताउनु भयो । उहाँले सालघारी फँडानीको काम रोकिनुपर्ने भन्दै सालघारी सर्पट फँडानीको गल्ती गर्न नहुने बताउनु भयो । वैज्ञानिक तरिकाले सालघारीको सदुपयोग गरिनुपर्ने र वन क्षेत्र अब धेरै बिस्तार गर्न नसकिने पनि बताउनु भयो । सघन वनतर्फ अघि बढ्ने नीति अपनाउन जरुरी रहेको बताउनु भयो । वन क्षेत्रमा पर्ने ग्रामिण क्षेत्रका छेउका खाली जमिनहरुमा कृषकका समूह बनाएर कृषि वन लगाउनुपर्ने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘विकास र वातावरणमा सन्तुलन जरुरी छ । तर वन क्षेत्रमै सालघारी फाँड्ने काम फँडानी यस्तो वैज्ञानिक वन व्यवस्था त पञ्चायतलाई जिताउन सूर्यबहादुर थापाले ०३६ सालमै एक पटक गरिसकेका हुन् । गज्जवले गरेका हुन् । सालघारी फाँडेर मान्छे बसाएर उधुम गरेर गरेका हुन् । त्यसकारण वैज्ञानिक नामले झुकिनु हुँदैन । प्रश्न विज्ञानको बिरोध हो र ? विज्ञानको बिरोध होइन, वैज्ञानिकताको बिरोध होइन, त्यस नाममा गरिएको सालघारी फँडानीको बिरोध हो । सालघारीको फँडानी हुनु हुँदैन, रोकिनुपर्छ । सालघारी सर्पट फँडानीको गल्ती गर्नु हुँदैन । वैज्ञानिक तरिकाले सालघारीको सदुपयोग गरिनुपर्छ । फँडानी होइन । वन नीति यही हो, यही नीतिअन्तर्गत अघि बढ्नुपर्छ । वन क्षेत्र अब धेरै बिस्तार गर्न सकिँदैन, त्यसैले सघन वनतर्फ जाऔँ । ग्रामिण क्षेत्रका छेउका खाली जमिनहरु जुन वन क्षेत्रमा पर्छ, कृषकहरुका समूह बनाएर कृषि वन बनाऔँ । आँपघारी लगाइदियो, फलफूलका बगैँचा लगाऔँ ।’
प्रधानमन्त्री ओलीले राणाकालीन समयमा सिंहदरबारमा रोपिएका आँप अहिले पनि फलिरहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल