• News
  • कोप–३१ को तयारीका लागि जलवायु परिवर्तनसम्बन्धी...

कोप–३१ को तयारीका लागि जलवायु परिवर्तनसम्बन्धी सम्मेलन गर्दैछौँः मन्त्री चौधरी

कोप–३१ को तयारीका लागि जलवायु परिवर्तनसम्बन्धी सम्मेलन गर्दैछौँः मन्त्री चौधरी

Climate News Nepal
बुधवार, कार्तिक १२ २०८३
  • कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१)को तयारीको लागि जलवायु परिवर्तनसम्बन्धी सम्मेलन गर्न लागिएको बताउनुभएको छ ।
    हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री चौधरीले कोप–३१ का लागि बिहीवार सम्मेलन गर्न लागिएको जानकारी दिनुभएको हो । सम्मेलनमा संसदीय समितिका सभापति, सांसद, विज्ञ तथा सम्बधित सरोकारावालहरुको सहभागिता रहनेछ । जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा प्राप्त सुझाव तथा सामाग्रीलाई कोपमा प्रश्तुत गर्ने उहाँको भनाई छ । कोपको तयारीको लागि मन्त्रालयले विकास साझेदार र सरोकारवालासँग समन्वय र सहकार्यका लागि बैठक गर्ने तयारी गरेको पनि उहाँले जानकारी दिनुभयो । उहाँले कोपमा प्रश्तुत गरिने सामग्री, पभिलियन तथा जलवायु परिवर्तनका प्रभावसम्बन्धी दृश्य सामग्रीको तयारीमा समेत विशेष ध्यान दिने बताउनु भयो । उहाँकाअनुसार कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार भइसकेको छ । मन्त्री चौधरीले कोपमा सहभागी भएर फर्किएपछि उपलब्धिको समीक्षा र कार्यान्वयनलाई समेत प्राथमिकता दिने बताउनुभयो । विगतका कोप सम्मेलनमा सहभागिताबाट प्राप्त उपलब्धि कति कार्यान्वयन भए भन्ने विषयमा प्रश्न उठ्ने गरेको उल्लेख गर्दै उहाँले आगामी सम्मेलनपछि पनि निरन्तर अनुगमन र कार्यान्वयनमा काम गरिने जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्री र सभामुखले जलवायु परिवर्तनका सन्र्दभमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा व्यक्त गरेका धारणालाई सरकारले आफ्नो नीतिगत मार्गदर्शनका रूपमा लिएको बताउनु भयो । ती धारणालाई जलवायु वार्तामा प्रभावकारी रूपमा प्रस्तुत गर्न विज्ञ तथा सरोकारवालाको सुझाव आवश्यक रहेको उहाँको भनाइ छ । मन्त्री चौधरीले जलवायु परिवर्तनका मुद्दामा लामो समयदेखि काम गर्दै आएका विज्ञ तथा सरोकारवालालाई मन्त्रालयसँग प्रत्यक्ष छलफल गरी सुझाव दिन आग्रह पनि गर्नुभयो । नेपालको जलवायु कूटनीतिलाई प्रभावकारी बनाउन राष्ट्रिय प्रतिवद्धता, अन्तर्राष्ट्रिय वार्ता र सम्मेलनपछिको कार्यान्वयनलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने उहाँको भनाई छ ।
    उहाँले भन्नुभयो, ‘कोपको तयारीका लागी हामीले काम गरिरहेका छौँ । कोपको तयारी के लागी भोलि अर्थात् कार्तिक १२ गते जलवायु परिवर्तनसम्बन्धी सम्मेलन आयोजना गर्ने तय भएको छ । त्यसपछि हामी सरोकारवाला तथा विकास साझेदारहरूसँग समन्वय र सहकार्यका लागि बैठक गर्नेछौँ । भोलि औपचारिक रूपमा विषयवस्तु प्रस्तुत भइसकेपछि थप छलफल गरेर माननीयज्यूहरूसँग परामर्श गर्ने हाम्रो योजना छ । कोपमा यहाँबाट जानुहुने सबै माननीयज्यूहरूले हाम्रो देशको प्रतिनिधित्व गर्नुहुनेछ । त्यसैले उहाँहरूले त्यहाँ उठाउनुपर्ने विषय, प्रस्तुत गर्नुपर्ने धारणा र अपनाउनुपर्ने रणनीतिका सम्बन्धमा तपाईंहरूको निर्देशन, सल्लाह र सुझाव लिन हामी फेरि बस्नेछौँ । हामी त्यहाँ गइसकेपछि यो विषय एक व्यक्तिको कूटनीतिमा मात्र सीमित रहने छैन । यो ठूलो कार्यक्रम हो, जहाँ विभिन्न स्थानमा सहभागी हुनुपर्नेछ । सबै द्विपक्षीय बैठक, छलफल तथा संवादमा सरकारका प्रतिनिधि मात्र सहभागी हुन सम्भव नहुन सक्छ । त्यसैले तपाईंहरूले सहभागी हुनुपर्ने बैठक तथा छलफलमा उठेका विषय र भएका कामलाई कसरी समग्र रूपमा एकीकृत र व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा पनि हामी छलफल गर्नेछौँ । सम्मेलनबाट फर्किएपछि प्राप्त उपलब्धिलाई व्यवहारमा उतार्न के गर्न सकिन्छ भन्ने विषयमा हामी गम्भीरतापूर्वक काम गर्नेछौँ । विगतमा जलवायु परिवर्तनसम्बन्धी विभिन्न सम्मेलन तथा कोपमा सहभागी हुँदै आएका छौँ । तर त्यहाँ गएर फर्किएपछि प्राप्त उपलब्धिको मूल्याङ्कन कत्तिको भयो वा भएन भन्ने विषयमा मात्र सीमित नभई अबको कोप सम्मेलनपछि गरिने अनुगमन तथा त्यसको कार्यान्वयनमा पनि हामी काम गर्नेछौँ । अर्को कुरा, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागी हुँदा सभामुखज्यू र प्रधानमन्त्रीज्यूले व्यक्त गर्नुभएका धारणालाई हामीले राज्यको निर्देशन तथा मार्गदर्शनका रूपमा लिएका छौँ ।’
    बैठकमा उहाँले जलवायु अनुकूलन कोषबाट ४५ मिलियन रकम विनियोजन भएको जानकारी पनि दिनुभयो । उक्त रकमको प्रभावकारी उपयोग तथा जलवायु कार्यक्रमका लागि उपलब्ध स्रोत परिचालनलाई थप व्यवस्थित बनाउने दिशामा मन्त्रालयले काम गरिरहेको उहाँको भनाई छ । उहाँले कोपमा नेपालको सहभागितालाई समावेशी बनाउने पनि जानकारी दिनुभयो । राष्ट्रिय दलबाट एक–एक जना प्रतिनिधि सहभागी गराउने प्रश्तावबारे छलफल भएको र त्यसको औपचारिक निर्णय सभामुखबाट हुने उहाँले बताउनु भयो । कोपमा सहभागी हुने सांसदहरूको विषयगत जिम्मेवारी र सहभागिताबारे सभामुखसँग छलफल भइरहेको उहाँको भनाई छ । कोपमा नेपालको प्रतिनिधित्व गर्ने सांसदहरूलाई विषयगत छलफल, द्विपक्षीय बैठक र अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने मुद्दाबारे पूर्वतयारी गराइने पनि उहाँले जानकारी दिनुभयो । –न्युज एजेन्सी नेपाल

    लोकप्रीय

    © 2026 All right reserved to climatenewsnepal.org  | Site By : sobij