• News
  • भोटेकोशी–कालीगण्डकी बाढी प्रभावित ४९ वडाको क्षति...

भोटेकोशी–कालीगण्डकी बाढी प्रभावित ४९ वडाको क्षति विवरण प्रमाणित गरेर उपलब्ध गराउन संसदीय समितिको निर्देशन

भोटेकोशी–कालीगण्डकी बाढी प्रभावित ४९ वडाको क्षति विवरण प्रमाणित गरेर उपलब्ध गराउन संसदीय समितिको निर्देशन

Climate News Nepal
बुधवार, कार्तिक १२ २०८३
  • भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले विपद्बाट प्रभावित ४९ वटै वडाको छुट्टाछुट्टै क्षति विवरण प्रमाणित गरेर उपलब्ध गराउन सरकारसँग माग गरेको छ । 
    समितिका सभापति कृष्णप्रसाद पौडेलले प्रभावित प्रत्येक वडामा मानवीय क्षति, बेपत्ता भएका व्यक्ति, कृषि तथा अन्य क्षेत्रमा भएको क्षति र राहत वितरणको वास्तविक विवरण उपलब्ध कृषि, वन तथा पर्यावरण मन्त्रालयलाई निर्देशन दिनुभएको हो । समितिले बुधवार सिंहदरबारमा गरेको छलफलका क्रममा सभापति पौडेलले स्थलगत निरीक्षणमा जानुअघि नै ४९ वटै वडाको क्षति तथा नोक्शानीसम्बन्धी तथ्याङ्क आवश्यक रहेको बताउनु भयो । उहाँले प्रत्येक वडामा कति जनाको मृत्यु भयो, कति जना बेपत्ता भए र कृषि लगायतका विभिन्न क्षेत्रमा कति क्षति पुग्यो भन्ने यथार्थ विवरण सरकारी निकायबाट हस्ताक्षर गरी प्रमाणित गरेर उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । उहाँकाअनुसार सही र प्रमाणित सूचना प्राप्त भएपछि मात्रै समितिले यथार्थपरक प्रतिवेदन तयार गर्न र तथ्यमा आधारित निर्णय तथा सुझाव दिन सक्नेछ । समितिले स्थलगत निरीक्षणका क्रममा सरकारी प्रतिवेदनमा उल्लेख गरिएको राहत वितरणको विवरण र प्रभावित नागरिकले वास्तविक रूपमा प्राप्त गरेको राहतको अवस्था पनि तुलना गर्ने जनाएको छ । सरकारी निकायले राहत उपलब्ध गराएको दाबी गरे पनि सम्बन्धित नागरिकले प्राप्त गरे वा नगरेको विषयमा समितिले स्थलगत रूपमा जानकारी लिने पौडेलले बताउनु भयो । 
    उहाँले भन्नुभयो, ‘विशेष समितिले स्थलगत निरीक्षण गर्नुअघि प्रभावित ४९ वटै वडाको छुट्टाछुट्टै क्षतिको वास्तविक विवरण उपलब्ध गराइदिनुहुन म अनुरोध गर्दछु । कुन वडामा कति जनाको मृत्यु भयो, कति जना बेपत्ता भए र कृषि लगायतका विभिन्न क्षेत्रमा कति क्षति तथा नोक्सानी भयो भन्ने तथ्याङ्क सम्बन्धित निकायबाट प्रमाणित गरी हस्ताक्षरसहित उपलब्ध गराइदिनुहुन हाम्रो जोडदार माग छ । यी तथ्याङ्क प्राप्त भएपछि मात्र समितिको प्रतिवेदन तथ्यपरक र विश्वसनीय बन्नेछ तथा निर्णयहरू पनि सही तथ्यमा आधारित हुनेछन् । त्यसैले यथाशिघ्र ४९ वटै वडाको छुट्टाछुट्टै क्षतिको विवरण उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु । तथ्याङ्क प्राप्त भएपछि स्थलगत निरीक्षणका क्रममा सरकारी प्रतिवेदनमा उल्लेख गरिएको राहत तथा क्षतिपूर्ति प्रभावित नागरिकले वास्तवमै पाए वा पाएनन् भन्ने विषयमा समेत समितिले स्थलगत रूपमा बुझ्नेछ । राष्ट्रिय सभाको जिम्मेवारीअनुसार नागरिकले भोगेको वास्तविक अवस्था उजागर गरी तथ्य र प्रमाणमा आधारित प्रतिवेदन तयार गर्नु नै हाम्रो उद्देश्य हो ।’
    राष्ट्रिय सभाले गर्ने अध्ययन तथा अनुगमन तथ्याङ्कमा आधारित र प्रभावित नागरिकले भोगेको वास्तविक अवस्थालाई प्रतिबिम्बित गर्ने खालको हुनुपर्ने उहाँको भनाइ छ । त्यसैले सम्बन्धित निकायले आवश्यक विवरण यथाशिघ्र उपलब्ध गराउनुपर्नेमा जोड दिँदै पौडेलले तथ्याङ्क प्राप्त भएपछि मात्रै समितिले स्थलगत निरीक्षण अघि बढाउने बताउनु भयो । –न्युज एजेन्सी नेपाल

    लोकप्रीय

    © 2026 All right reserved to climatenewsnepal.org  | Site By : sobij