• News
  • विपद् न्यूनीकरणको लागि सामुदायिक विपद् स्वयंसेवक...

विपद् न्यूनीकरणको लागि सामुदायिक विपद् स्वयंसेवक तथा विपद् सूचक प्रभावकारी हुनुपर्नेमा जोड

विपद् न्यूनीकरणको लागि सामुदायिक विपद् स्वयंसेवक तथा विपद् सूचक प्रभावकारी हुनुपर्नेमा जोड

बिहिवार, जेठ २३ २०८२
  • काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विपद् स्वयंसेवक तथा विपद् सूचकहरूको सञ्जाल मार्फत विपद्को पूर्व जानकारी, परिचालन, उद्धार एवं राहत कार्य प्रभावकारी हुने बताएका छन् । 
    स्वीजरल्याण्डको जेनेभामा सञ्चालन भइरहेको विपद् जोखिम न्यूनीकरणको लागि विश्वव्यापी प्लेटफमको आठौँ सत्रलाई बुधबार सम्बोधन गर्दै उनले सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय र पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भई विपद् व्यवस्थापनसँग सम्बन्धी उच्चस्तरीय तालिम सञ्चालन चालन गरी दक्ष जनशक्ति उत्पादन गरिरहेको बताए ।
    त्यस अवसरमा उनले समुदाय विपद् स्वयंसेवक तथा विपद् सूचक मार्फत भौगोलिक तथा विपद्जन्य अवस्थामा छिटो सूचना प्राप्त हुने र यसले विपद् व्यवस्थापनमा सहकार्य तथा सहजता आउने भएकोले सशस्त्र प्रहरी बल नेपालले यस कार्यलाई उच्च प्राथमिकतामा राखेको बताए । 
    यस प्रकारको सञ्जाल र सामुदायिक साझेदारीले विपद्को पूर्व तयारी, व्यवस्थापन, उद्धार र राहतमा समेत स्थानीय समुदाय र सुरक्षाकर्मी बीचमा समन्वय हुने भएकोले यो कार्य विपद्सँग जुध्नको लागि उपयोगी र प्रभावकारी हुनेमा जोड दिए ।

    ig_4sIHt8YNZJ.jpg
    महानिरीक्षक अर्यालले अन्तर निकाय समन्वय र यससँग सम्बन्धित डाटाको आदान–प्रदान, युवा तथा समुदायलाई अग्र पङ्क्तिमा राखेर विपद्को सामना गर्न सकिने भएकोले जलवायु परिवर्तनको संवेदनशीलतालाई दृष्टिगत गरेर नेपालले हालै सगरमाथा संवाद मार्फत विश्व संवादको थालनी गरेको बताए । 
    सम्बोधनको क्रममा उनले नेपाल प्राकृतिक विपद्हरूको अग्र पङ्क्तिमा रहेकोले यस्ता प्रकारका चुनौती सामना गर्न र विपद् जोखिम न्यूनीकरण गर्न दृढ प्रतिबद्ध रहेको बताए । 
    विश्वभरिका विपद्सँग सम्बन्धित देशहरूको सहभागिता रहेको कार्यक्रममा महानिरीक्षक अर्यालले विपद्को सामना गर्न एक्लो प्रयासले मात्र सम्भव नहुने भएकोले यसमा विश्व समुदायको सामूहिक प्रयास अन्तर निकाय समन्वय  हुनुपर्नेमा जोड दिए ।
    विपद्लाई व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन डिजास्टर गभरमेन्ट्स राम्रो हुनुपर्ने र सेन्दाई फ्रेमवर्क, पेरिस सम्झौता र दिगो विकास लक्ष्यहरूको प्रतिज्ञा पुरा गर्न एकैसाथ क्रियाशील हुनुपर्ने र त्यसलाई पुरा गर्नको लागि नेपाल सरकार र सशस्त्र प्रहरी बल नेपाल अग्रसर र प्रतिबद्ध रहेको समेत उनले बताए ।
    नेपाली भूगोल समुन्द्री सतहबाट ५९ मिटरदेखि ८८४८ मिटर अग्लो विश्वको सर्वोच्च शिखर सगरमाथासम्म रहेकोले भूकम्प, बाढी, पहिरो, चट्याङ जस्ता प्रकोपहरूको सामना गरिरहेको तथा स्थानीय रूपमा गरिएको कार्य तथा विश्वव्यापी रणनीतिहरूमा एकसाथ अघि बढ्न सकिने उहाँले बताए । 
    होचो भू–भागदेखि अग्लो भू–भागसम्म हाम्रा सुरक्षाकर्मीले विपद्मा गरेको अनुभव र कार्यकुशलता विश्वको जुनसुकै राष्ट्रमा पनि उपयोग हुने समेत महानिरीक्षक अर्यालले बताए ।
    विपद्मा अन्तर्राष्ट्रिय सहकार्यको लागि आह्वान गर्नुहुँदै महानिरीक्षक अर्यालले दिगो विकास लक्ष्यहरूको प्रतिज्ञा पुरा गर्न एकैसाथ क्रियाशील हुनुपर्नेमा जोड दिए । सो कार्यक्रममा गृह सचिव गोकर्णमणि दुवाडी समेत सहभागी भएका छन् । 

     

    लोकप्रीय

    © 2026 All right reserved to climatenewsnepal.org  | Site By : sobij