काठमाडौंमा पर्यटन फोटो पत्रकारिता तालिम शुरु भएको छ ।
फोटो पत्रकारितामार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ शुरु भएको तालिममा विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारहरु सहभागी रहेका छन् । मंगलवारदेखि शुरु भएको तालिममा वागमती प्रदेशका विभिन्न जिल्लाबाट आएका ३० जना पत्रकार सहभागी छन् । उद्घाटन सत्रमा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहलगानीमा सञ्चालित दिगो पर्यटन परियोजनाका राष्ट्रिय परियोजना प्रवन्धक धर्म दवाडीले पर्यटन र पत्रकारिताबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउन यस्तो तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले दिगो पर्यटन परियोजनाले अपि–सैपाल, मनास्लु र कञ्चनजंघा पदमार्गलाई प्राथमिकतामा राखेर पूर्वाधार विकास, सेवा सुधार र मानव स्रोत विकासमा काम गरिरहेको बताउनु भयो । पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार र त्यहाँका पर्यटन सरोकारवालाहरुको षमता अभिवृद्धि गर्ने हेतुले कार्यक्रम सञ्चालन गरिरहेको बताउनु भयो । पर्यटनका गन्तव्यहरु पहिचान गरी पर्यटन प्रचारप्रसार गर्ने हेतुले कार्यक्रम गरिरहेको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकी अध्यक्ष शोभा अर्यालले नेपाल भौगोलिक र सांस्कृतिक रूपमा धनी मुलुक भएकाले पर्यटन प्रवद्र्धनमा फोटो पत्रकारिताको भुमिका अझ सशक्त बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले देशका विभिन्न भूगोलसम्म फोटो पत्रकारिता तालिम विस्तार गर्न महासंघ सहकार्यका लागि सधैं तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले फोटो पत्रकारितको प्रभाव पत्रकारिता जगतमा बढिरहेको बताउनु भयो । स्थानीय तहसम्म पुगेर पर्यटनको प्रवद्र्धन गर्न फोटो पत्रकारिताले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । फोटो पत्रकारिताले जीविकोपार्जनमा पनि सहयोग पुग्ने जिकिर गर्नुभयो ।
राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तले तस्बिरमार्फत प्रस्तुत गरिने कथाले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा चिनाउन महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।
आयोजककाअनुसार तालिमको दोस्रो दिन तस्बिर कथाको व्यवहारिक अभ्यास तथा फिल्ड भ्रमण गरिनेछ। तालिममा सिन्धुपाल्चोक, नुवाकोट, काभ्रेपलाञ्चोकलगायत बागमती प्रदेशका विभिन्न जिल्लाका पत्रकारहरूको सहभागिता रहेको छ । –न्युज एजेन्सी नेपाल