• News
  • जलवायु परिवर्तन नीतिलाई आर्थिक समृद्धिसँग जोड्नुपर्नेमा...

जलवायु परिवर्तन नीतिलाई आर्थिक समृद्धिसँग जोड्नुपर्नेमा प्रवक्ता डा. ढकालको जोड

जलवायु परिवर्तन नीतिलाई आर्थिक समृद्धिसँग जोड्नुपर्नेमा प्रवक्ता डा. ढकालको जोड

Climate News Nepal
शुक्रवार, बैशाख २५ २०८३
  • जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकालले नेपालको सामाजिक–आर्थिक समृद्धिका लागि जलवायु उत्थानशील समाज निर्माण अपरिहार्य रहेको बताउनुभएको छ ।

    जलवायु परिवर्तनसम्बन्धी नीतिगत समीक्षाका क्रममा उहाँले आर्थिक समृद्धि र जलवायु उत्थानशीलता एकअर्काका परिपूरक रहेको स्पष्ट पार्नुभएको हो । सरकारले तर्जुमा गरेको जलवायु नीतिले निर्दिष्ट गरेका लक्ष्यहरू प्राप्तिका लागि सातवटा उद्देश्य र आठवटा विषयगत क्षेत्र ( निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो । उक्त नीतिमा अनुकूलन, वित्त व्यवस्थापन तथा लैंगिक र सामाजिक समावेशीकरण जस्ता पक्ष समेटिएको छ  । डा. ढकालकाअनुसार जलवायु नीतिले कृषि र खाद्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको छ । यसैगरी, वन तथा जैविक विविधतालाई दोस्रो प्राथमिकतामा राखिएको छ । पारिस्थितिक प्रणालीको सन्तुलन र नेपालको ९० प्रतिशत खानेपानीको स्रोत सामुदायिक वन वा वन क्षेत्रमै आधारित रहेकाले यस क्षेत्रलाई विशेष महत्व दिइएको उहाँको भनाइ छ ।

    नीतिले जलस्रोत र ऊर्जालाई तेस्रो तथा प्रकृति र संस्कृतिमा आधारित पर्यटनलाई चौथो प्राथमिकतामा राखेको छ । पाँचौँ प्राथमिकतामा ग्रामीण तथा शहरी बसोवास (ह्याबिट्याट) लाई राखिएको छ । दिगो विकास लक्ष्य (एसडिजी) को बुँदा नम्बर ११ सँग सामञ्जस्यता कायम गर्दै अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने र शहरहरूलाई जलवायु उत्थानशील बनाउने लक्ष्य सरकारको छ । यस अन्तर्गत सहरमा पैदल यात्रीका लागि उचित बाटो, साइकल लेन, प्रभावकारी ड्रेनेज प्रणाली, तापक्रम अनुकूल सडक, पार्क र जलवायु अनुकूल पूर्वाधारयुक्त अस्पताल निर्माण हुनुपर्नेमा नीतिले जोड दिएको छ ।

    यसैगरी, छैटौँ प्राथमिकतामा पूर्वाधार, उद्योग र यातायात क्षेत्रलाई समेटिएको छ । प्रवक्ता ढकालले अन्तर्राष्ट्रिय स्तरमा हाल चर्चामा रहेको ‘ग्रिन रेजिलेन्ट इन्क्लुसिभ डेभलपमेण्ट’ (ग्रिड) अवधारणालाई नेपालले नीतिगत रूपमा पहिल्यै आत्मसात गरिसकेको दाबी गर्नुभयो । जलवायु परिवर्तनका चुनौतीलाई सम्बोधन गर्न र दिगो विकास सुनिश्चित गर्न विद्यमान नीतिहरूको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको उहाँले उल्लेख गर्नुभयो ।

    नेपालले सन् २०११ देखि नै न्युन कार्बन उत्सर्जन र जलवायु अनुकुलनका क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्नुभयो । मन्त्रालयले सन् २०१९ मा ल्याएको परिमार्जित जलवायु परिवर्तन नीतिबारे चर्चा गर्दै डा. ढकालले यसले आठवटा मुख्य क्षेत्र र चारवटा अन्तरसम्बन्धित (क्रस–कटिङ) गरी कुल १२ वटा विषयगत क्षेत्रलाई समेटेको जानकारी दिनुभयो ।

    प्रवक्ता डा. ढकालले सन् २०११ को जलवायु परिवर्तन नीतिले जलवायु परिवर्तनको असमान प्रभावलाई सम्बोधन गर्ने र न्युन कार्बन उत्सर्जनको मार्ग अबलम्बन गर्ने लक्ष्य लिएको बताउनु भयो । वन तथा वातावरण मन्त्रालयका प्रवक्ता समेत रहनुभएका डा. ढकालले समयमै न्युनिकरणमा ध्यान नदिए भविष्यमा अनुकुलनको लागत निकै महँगो पर्ने तथ्यलाई मध्यनजर गर्दै तत्कालीन नीति अगाडि सारिएको उहाँको भनाइ छ । अन्तर्राष्ट्रियस्तरमा पनि सन् २०१५ दिगो विकास लक्ष्य (एसडिजी) र सेन्दाइ फ्रेमवर्कका कारण महत्त्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो । दिगो विकास लक्ष्यको बुँदा नम्बर १३ प्रत्यक्ष रूपमा जलवायु कार्यसँग सम्बन्धित भएपनि अन्य सबै १७ वटा लक्ष्यहरू यससँगै जोडिएको उहाँले स्पष्ट पार्नुभयो । उक्त नीतिले कृषि तथा खाद्य सुरक्षा, वन तथा जैविक विविधता, जलस्रोत तथा ऊर्जा, पर्यटन, ग्रामीण तथा सहरी बसोबास, पूर्वाधार, यातायात, र स्वास्थ्य एवं सरसफाइलाई प्राथमिकतामा राखेको छ । विशेष गरी जलवायुजन्य हानी–नोक्शानीको विषय अहिले अन्तर्राष्ट्रिय बहसमा तेस्रो महत्वपूर्ण खम्बाका रूपमा स्थापित भएको उहाँको तर्क छ ।

    सन् २०१५ लाई नेपालको नीतिगत र राष्ट्रिय सन्दर्भमा ‘कोसेढुङ्गा’ मान्दै डा. ढकालले भन्नुभयो, ‘नेपालका ६० देखि ६६ प्रतिशत जनता अझै पनि कृषिमा आधारित रहेकाले खाद्य सुरक्षा सुनिश्चित नगरी जलवायु उत्थानशीलताको लक्ष्य प्राप्त गर्न सकिँदैन,” उनले भने । नयाँ संविधानले जलवायु परिवर्तन र कार्बन व्यापारलाई सङ्घीय सरकारको अधिकार सूचीमा राखेको छ । सोही वर्षको विनाशकारी भूकम्प र त्यसपछिको ’पिडिएनए’ रिपोर्टले हामीलाई जलवायु र गैर–जलवायुजन्य विपद् व्यवस्थापनमा ठूलो पाठ सिकाएको छ । हिजो अनुकूलन र न्युनिकरणमा मात्र सीमित बहस अहिले हानी–नोक्शानीको क्षतिपूर्तिसम्म पुगेको छ । कोप–२८ पछि स्थापना भएको ‘फण्ड फर रेस्पोन्डिङ लस एण्ड ड्यामेज’ यसैको उपलब्धि हो । जलवायु वित्तलाई ‘अनलक’ गर्न र यसमा पहुँच बढाउन अर्थ मन्त्रालय, विकास साझेदार र निजी क्षेत्रबीच समन्वय आवश्यक छ ।’

    जलवायु वित्तका क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको स्वीकार गर्दै उहाँले अन्तर्राष्ट्रिय अनुदान, सहुलियतपूर्ण ऋण र निजी क्षेत्रको लगानीलाई आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो । नीतिगत व्यवस्था भएपनि प्रदेश र स्थानीय तहमा जलवायु कार्यलाई प्रभावकारी रूपमा पु¥याउन नसकिएको उहाँले स्वीकार गर्नुभयो । जलवायु परिवर्तनका कार्यक्रमहरू विदेशी परियोजनामा मात्र सिमित नभई सरकारको नियमित बजेट र दैनिक जीवनशैलीसँग जोडिनुपर्ने उहाँको धारणा छ । आगामी दिनमा विद्यमान नीतिका कमजोरीहरूलाई सुधार गर्दै जलवायु उत्थानशील राष्ट्र निर्माणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल

    लोकप्रीय

    © 2026 All right reserved to climatenewsnepal.org  | Site By : sobij