• News
  • जलवायु परिवर्तन नीति बनाउँदा जलवायु उत्थानशील...

जलवायु परिवर्तन नीति बनाउँदा जलवायु उत्थानशील पूर्वाधार निर्माणमा जोड दिनुपर्छः सचिव डा. शर्मा

जलवायु परिवर्तन नीति बनाउँदा जलवायु उत्थानशील पूर्वाधार निर्माणमा जोड दिनुपर्छः सचिव डा. शर्मा

Climate News Nepal
शुक्रवार, बैशाख २५ २०८३
  • वन तथा वातावरणमन्त्री गीता चौधरीले ‘राष्ट्रिय जलवायु परिवर्तन नीति, २०८२’ लाई व्यावहारिक, वैज्ञानिक र कार्यान्वयनयोग्य बनाइने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 
    वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जलवायु परिवर्तन नीति तर्जुमासम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय जलवायु परिवर्तन नीति केवल दस्ताबेजमा मात्र सिमित नराख्ने बताउनु भयो । मन्त्री चौधरीले नेपालको हिमाल पग्लिने क्रम बढ्दो रहेको र यसले तल्लो तटीय क्षेत्रमा बाढी, जनधनको क्षति तथा पूर्वाधारमा गम्भीर असर पु¥याइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । हरितगृह ग्यास उत्सर्जनमा नेपालको भूमिका नगण्य भएपनि जलवायु परिवर्तनको प्रत्यक्ष मार नेपालले नै खेपिरहनुपरेको उल्लेख गर्दै उहाँले अतिवृष्टि, लामो खडेरी, वन डढेलो र कृषि उत्पादनमा आएको ह्रासले खाद्य सुरक्षामा गम्भीर चुनौती थपिएको बताउनु भयो । 
    नयाँ नीतिले गरिब, दलित, आदिवासी जनजाति, महिला, अल्पसङ्ख्यक र अपाङ्गता भएका व्यक्तिका समस्यालाई विशेष रूपमा सम्बोधन गर्ने मन्त्री चौधरीको भनाइ छ । वन क्षेत्रलाई जीविकोपार्जन र समृद्धिसँग जोड्नुपर्नेमा जोड दिँदै मन्त्री चौधरीले नेपालको ४६ प्रतिशत वन क्षेत्र र २४ प्रतिशत संरक्षित क्षेत्रलाई उपयोग गर्दै कार्बन व्यापार र पर्यापर्यटनका माध्यमबाट अर्थतन्त्रमा योगदान पु¥याइने बताउनु भयो । वन क्षेत्रले केवल अक्सिजन मात्र नभई आयआर्जनको अवसर पनि प्रदान गर्नुपर्ने भन्दै उहाँले नीतिगत र कानूनी अड्चनहरू फुकाएर अगाडि बढ्ने जानकारी दिनुभयो । 
    परम्परागत ज्ञान र आधुनिक प्रविधि (विशेष गरी एआईमा आधारित नवप्रवर्तन) बीच संयोजन गर्दै जलवायु अनुकूलनका कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा उहाँको जोड छ । साथै, जलवायु वित्तका लागि स्पष्ट रणनीति र पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री चौधरीले सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय हुनुपर्ने बताउनु भयो । 
    उहाँले भन्नुभयो, ‘पहुँचभन्दा बाहिर रहेका र कुना–कन्दरामा रहेका सीमान्तकृत समुदायको आवश्यकतालाई सम्बोधन गर्नु नै यस नीतिको मुख्य लक्ष्य हुनेछ । हामीले धेरै कानून र नीतिहरू बनायौँ, तर कार्यान्वयन पक्ष फितलो रहँदा ती कागजमै सिमित भए । अब बन्ने नीतिलाई हामी कार्यान्वयनको तहमा लैजान सचेत छौँ ।’
    नेपाल सन् २०२६ सम्ममा अल्पविकसितबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुने क्रममा रहेको उल्लेख गर्दै मन्त्रीले विकास र वातावरणबीच सन्तुलन कायम गर्नु मुख्य चुनौती रहेको औँल्याउनु भयो । पेरिस सम्झौता र राष्ट्रिय निर्धारित योगदान प्रतिवेदनअनुसार नेपालले आफ्ना लक्ष्यहरू पूरा गर्न प्रतिवद्ध रहेको र अन्तर्राष्ट्रिय मञ्चमा ‘हिमालको आवाज’ बुलन्द गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने उहाँले उद्घोष गर्नुभयो गोष्ठीमा आएका सुझावहरूलाई समेटेर नीति परिमार्जन गरिने मन्त्री चौधरीले स्पष्ट पार्नुभयो ।–न्युज एजेन्सी नेपाल

    लोकप्रीय

    © 2026 All right reserved to climatenewsnepal.org  | Site By : sobij