• News
  • रसुवा बाढी अपडेटः हालसम्म १०५० को...

रसुवा बाढी अपडेटः हालसम्म १०५० को मृत्यु, ३,९१६ जना अझै बेपत्ता

रसुवा बाढी अपडेटः हालसम्म १०५० को मृत्यु, ३,९१६ जना अझै बेपत्ता

मंगलवार, भाद्र १६ २०८३
  • रसुवा केन्द्रबिन्दु भई आएको विनाशकारी भोटेकोशी बाढीका कारण हालसम्म १ हजार ५० जनाको मृत्यु भएको छ भने ३ हजार ९ सय १६ जना अझै बेपत्ता रहेका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आज (भदौ १६ गते) साँझ ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै खोज, उद्धार र राहत कार्यको पछिल्लो अवस्थाबारे जानकारी दिएको हो । प्राधिकरणकाअनुसार बाढीमा परी ज्यान गुमाउने १०५० मध्ये विभिन्न स्थानबाट शव फेला पार्ने क्रम जारी छ । नुवाकोटमा १ सय ४२, रसुवामा ४१, तनहुँमा ३८, धादिङमा ५७, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, गोरखामा ६५ र चितवनमा ३२१ जनाको शव फेला परेको विवरण प्राप्त भएको छ । 
    ५८३ विदेशी नागरिक र उनीहरूसँगै गएका १६४ नेपाली कामदार÷सहयोगी अझै सम्पर्कविहीन छन् । बाढीमा परी घाइते भएका २९२ मध्ये १८२ जना उपचारपश्चात विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । नेपाली सेनाले २ हजार ९ सय १५ र सशस्त्र प्रहरीले १ हजार १ सय ५५ जनालाई स्वास्थ्य उपचार प्रदान गरेका छन् । 
    प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि कुल २१ हजार ३ सय १४ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाल प्रहरीका ७ हजार ९ सय १२, नेपाली सेनाका ९ हजार १ सय ९९ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना रहेका छन् । हालसम्म ११ हजार ९ सय ९३ जनाको सफल उद्धार गरिएको छ । 
    उद्धारका लागि नेपाली सेनाको हेलिकप्टरबाट ६ सय १० पटक उडान भरिएको छ, जसमध्ये आज मात्रै ८४ उडान भएका छन् । हवाई मार्गबाट ४ हजार ९१ नेपाली र २ सय ७३ विदेशी नागरिकको उद्धार गरिएको छ। निजी क्षेत्रका हेलिकप्टरबाट समेत २९ वटा उडानमार्फत उद्धार कार्यमा सहयोग पु¥याइएको छ । 
    सरकारले प्रभावित जिल्ला र पालिकाहरूका लागि राहत रकम निकासा गरेको छ । रसुवा र नुवाकोटका लागि १÷१ करोड, धादिङका लागि ५० लाख र प्रभावित १५ पालिकाहरूका लागि थप ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको प्राधिकरणले जनाएको छ । 
    राहत सामग्रीतर्फ हालसम्म ३७ ट्रक र ३७ बोलेरोमार्फत खाद्य तथा गैर–खाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ । यस्तै, हेलिकप्टरमार्फत विभिन्न स्थानमा राहत ढुवानी भइरहेको छ। हाल ३ हजार ४ सय ५३ जना प्रभावितहरू नुवाकोट, धादिङ, रसुवा र काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा रहेका छन् । 
    प्रभावित क्षेत्रमा अत्यावश्यक सेवा सुचारु राख्न इन्धनको मौज्दात सुनिश्चित गरिएको छ । हाल ३५ हजार लिटर डिजेल, १५ हजार लिटर पेट्रोल र ९ हजार लिटर हवाई इन्धन मौज्दात रहेको छ । सञ्चार क्षेत्रतर्फ, नेपाल टेलिकमका क्षतिग्रस्त ११० वटा टावरमध्ये सबै सञ्चालनमा आइसकेका छन् । एनसेलका क्षतिग्रस्त ७८ मध्ये ७५ वटा टावरले पुनः काम गर्न थालेका छन् । प्राधिकरणले सम्पर्कविहीन विदेशी नागरिक, उपचाररत व्यक्ति र उद्धार गरिएकाहरूको विस्तृत विवरण आफ्नो आधिकारिक वेबसाइट र फेसबुक पेजमार्फत निरन्तर अद्यावधिक गरिरहेको जानकारी दिएको छ । –न्युज एजेन्सी नेपाल

    लोकप्रीय

    © 2026 All right reserved to climatenewsnepal.org  | Site By : sobij