नेकपा (एमाले)का सांसद पुष्पराज कँडेलले तिब्बततर्फबाट आएको बाढीबाट मानवीय तथा भौतिक क्षति हुनुका साथै प्रभावित क्षेत्रमा गम्भीर मनोवैज्ञानिक परेको भन्दै सरकारलाई तत्काल उद्धार, राहत, पुनस्र्थापना तथा पुनर्निर्माणमा जुट्न आग्रह गर्नुभएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले हालसम्म धादिङमा मानवीय क्षतिको विवरण प्राप्त नभए पनि ठूलो मात्रामा भौतिक क्षति भएको जानकारी दिनुभयो । उहाँले धादिङ कयौँ पुलहरु बगाएको तथा जिल्ला सदरमुकामसँगको सम्पर्क विच्छेद भएको जानकारी समेत गराउनु भयो । उहाँले बाढीबाट धादिङभन्दा बढी नुवाकोट र नुवाकोटमा भन्दा रसुवामा बढी क्षति भएको अनुमान गर्न सकिने समेत बताउनु भयो । उहाँले यो गम्भीर परिस्थितिमा राहत, पुनस्र्थापना, उद्धार र पुनर्निर्माणमा पूर्ण रूपमा लाग्न सरकारलाई आग्रह गर्दै प्रतिपक्षी दलका तर्फबाट यस कार्यमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘बाढीले मानवीय र भौतिक क्षति गर्नुका साथै यसले मानवीय मनोविज्ञान समेत ठुलो असर पारेको स्थिति छ । यसमा हामी सबैले दुःख व्यक्त गर्दछौँ नै । धादिङको सन्दर्भमा अहिलेसम्म मानवीय क्षति भएको कुनै जानकारी आएको छैन । भौतिक क्षति थुप्रै भएको छ । पुलहरु धेरै बगाएको छ भन्ने खबर आएको छ । सदरमुकामसँगको सम्पर्क टुटेको स्थिति छ । धादिङमाभन्दा नुवाकोटमा र नुवाकोटमा भन्दा रसुवामा बढी क्षति भएको अनुमान गर्न सकिन्छ । सरकारले यस विपतमा खोज तथा राहत र पुनस्र्थापना र पुनर्निमाणमा पनि सहयोग गरोस् । हामी प्रतिपक्षी दलहरुको तर्फबाट सहयोग दिने प्रतिवद्धता जाहेर गर्दछौँ ।’
तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा आएको बाढी नुवाकोट, धादिङ हुँदै चितवनसम्म पुगेको छ । –न्युज एजेन्सी नेपाल