• News
  • नेकपा सांसदले भनिन्– आवश्यक परे हामीलाई...

नेकपा सांसदले भनिन्– आवश्यक परे हामीलाई पनि विपद् उद्धार कार्यमा खटाइयोस्

नेकपा सांसदले भनिन्– आवश्यक परे हामीलाई पनि विपद् उद्धार कार्यमा खटाइयोस्

बुधवार, भाद्र १० २०८३
  • नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती विकले मुलुकमा आएको प्राकृतिक विपद्को सामना गर्न राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर राष्ट्रिय एकताका साथ उद्धार कार्यमा लाग्न सरकार र सरोकारवाला पक्षसँग आग्रह गर्नुभएको छ ।
    बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद विकले हालैको अविरल वर्षाका कारण रसुवा, धादिङ, चितवन लगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभयो । आवश्यक परे सांसदहरुलाई पनि उद्धार कार्यमा खटाउन आग्रह गर्नुभयो । उहाँले विपद्का कारण हजारौँ नागरिक बेपत्ता भएको, लाखौँ प्रभावित भएको र अर्बौँको क्षति भएको उल्लेख गर्दै प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन सरकारले तदारुकता देखाउनुपर्नेमा जोड दिनुभयो । सांसद विकले विगतमा जाजरकोटमा आएको बाढीपहिरोबाट विस्थापित भएका परिवारले अझै पनि उचित व्यवस्थापन नपाएको स्मरण गराउँदै वर्तमान विपद्का पीडितहरूले पनि त्यस्तै नियति भोग्न नपरोस् भनी सरकारको ध्यानाकर्षण गराउनु भयो । 
    सांसद विकले उद्धार र राहत कार्यमा सरकार एक्लैको प्रयास पर्याप्त नहुने भन्दै निजी क्षेत्रलाई अविलम्ब परिचालन गर्न सुझाव दिनुभयो । साथै, विगतका विपद्हरूमा अतुलनीय सहयोग पु¥याएका वैदेशिक तथा आन्तरिक सहयोगी निकायहरूलाई पुनः सक्रियताका साथ सहयोगमा जुट्न उहाँले अपिल गर्नुभयो । 
    विपद्को यस संवेदनशील घडीमा सामाजिक सञ्जालमार्फत त्रास र भ्रम फैलाउने कार्य भइरहेको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । यस्ता नकारात्मक र भयावह सन्देशहरूले नागरिकमा झन् वितृष्णा र त्रास पैदा गर्ने भन्दै जिम्मेवार भई तथ्यपूर्ण सूचना मात्र सम्प्रेषण गर्न उहाँले सम्पूर्ण प्रयोगकर्ताहरूलाई आग्रह गर्नुभयो । उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सांसदहरूलाई पनि कार्यक्षेत्रमा खटाउनुपर्ने उहाँको धारणा छ ।  
    उहाँले भन्नुभयो, ‘अहिलेको अवस्थामा नागरिकको जिउधनको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ। सरकारले हामी सांसदहरूलाई पनि कुन रूपमा र कसरी परिचालन गर्न सक्छ, त्यसका लागि हामी तयार छौँ । हामीलाई पनि उद्धार कार्यमा खटाइयोस् ।’
    सांसद विकले प्राकृतिक प्रकोपले दिएको पीडामाथि एक–अर्काको घाऊमा मलम लगाउने गरी मानवीय भावनाका साथ अगाडि बढ्न र नागरिकलाई हतोत्साहित पार्ने खालका गतिविधि नगर्न सबैमा आग्रह गर्नुभएको छ । –न्युज एजेन्सी नेपाल

    लोकप्रीय

    © 2026 All right reserved to climatenewsnepal.org  | Site By : sobij