• News
  • चीनले भन्यो– ब्यारियर लेकबाट सिर्जना हुनसक्ने...

चीनले भन्यो– ब्यारियर लेकबाट सिर्जना हुनसक्ने जोखिमलाई पूर्ण रूपमा न्युनिकरण गर्न चुनौतीपूर्ण

चीनले भन्यो– ब्यारियर लेकबाट सिर्जना हुनसक्ने जोखिमलाई पूर्ण रूपमा न्युनिकरण गर्न चुनौतीपूर्ण

Climate News Nepal
बिहिवार, भाद्र १८ २०८३
  • चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित जिरोङ (केरुङ) नाकामा गएको विनाशकारी पहिरोपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई शुक्रवारदेखि थप तिब्र पारिएको छ । समयसँग प्रतिष्पर्धा गर्दै उद्धारकर्मीहरू प्रभावित क्षेत्रमा परिचालित भएका छन् । चीनको राष्ट्रिय अग्नि तथा उद्धार प्रशासनकाअनुसार शुक्रवार बिहान १० बजेसम्म कुल ६ सय ८१ जना अग्नि नियन्त्रक तथा उद्धारकर्मी र ११३ वटा सवारी साधन विकट हिमाली क्षेत्रमा पुगेका छन् । यसका साथै ६ हजार ६१२ थान उद्धार उपकरण र आवश्यक बन्दोबस्तीका सामग्री जिरोङ गाउँतर्फ पठाइएको छ । 
    नेपालतर्फबाट शुरु भएको पहिरो बुधवार बिहान जिरोङ काउन्टीको केरुङ नाकामा खसेको थियो । बिहीवार बिहान ८ बजेसम्मको प्राप्त विवरण अनुसार यस प्राकृतिक विपत्तिमा परी ३ जनाको मृत्यु भएको छ भने ५ सय ५८ जना अझै बेपत्ता छन् । दुईजना स्थानीय बासिन्दालाई भने सुरक्षित रूपमा उद्धार गरिएको छ । 
    उद्धार कार्यका लागि बिहीबार बिहान १४१ जना उद्धारकर्मीको पहिलो टोली र उच्च उचाईमा उडान भर्न सक्ने हेलिकप्टर घटनास्थलमा पुगेका थिए । सोही दिन अपराह्न चीनको विशेष खोज तथा उद्धार टोलीका थप १११ जना सदस्यहरू जिरोङ आइपुगेका छन् । 
    उद्धार कार्यलाई प्रभावकारी बनाउन तीनवटा विशेष टोली परिचालन गरिएको छ । यी टोलीहरूले रबरको डुङ्गामार्फत जलमार्ग, पैदल मार्गबाट जटिल हिमाली भू–भाग र ड्रोनको माध्यमबाट हवाई निरीक्षणका साथै राहत सामग्री ढुवानी गरिरहेका छन् , एक अग्रिम टोलीले मुख्य विपद् क्षेत्रको म्यापिङ, निगरानी र पहिरोले थुनिएको नदी (ब्यारियर लेक) को अवस्थाबारे अध्ययन गरिरहेको छ । उद्धार प्रयासलाई प्राविधिक सहयोग पु¥याउन आपतकालीन व्यवस्थापन मन्त्रालय अन्तर्गतको साङ्घाई फायर रिसर्च इन्स्टिच्युटका १३ जना विज्ञहरू पनि घटनास्थल पुगेका छन् । 
    यसैबीच, चीनको सरकारी स्वामित्वको इन्जिनियरिङ तथा उद्धार निकाय ‘चीन आनेन’ ले १५ सदस्यीय विशेषज्ञ टोली परिचालन गरेको छ । उक्त टोलीले ड्रोन, पोर्टेबल स्याटेलाइट स्टेशन र मोबाइल सर्भिलेन्स क्यामरामार्फत अवरुद्ध सडक र ब्यारियर लेकको अवस्थाको सूक्ष्म अध्ययन गरिरहेको छ ।
    उद्धारकर्मीहरूका अनुसार नाकाभन्दा करिव ३ किलोमिटर माथिल्लो क्षेत्रमा थुप्रिएको लेदो र गेग्रान हटाउनुअघि ब्यारियर लेकबाट सिर्जना हुनसक्ने जोखिमलाई पूर्ण रूपमा न्युनिकरण गर्नु चुनौतीपूर्ण देखिएको छ ।
    सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

    लोकप्रीय

    © 2026 All right reserved to climatenewsnepal.org  | Site By : sobij