नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक किरणकुमार श्रेष्ठले रसुवा बाढीका कारण जलविद्युत आयोजनामा फसेका नागरिकको तत्काल उद्धार गर्न ठूलो चुनौती देखिएको बताउनुभएको छ ।
उहाँले त्रिशूली–३ ए, बी लगायत जलविद्युत आयोजनाको भूमिगत पावरहाउसमा फसेका कामदारको उद्धारमा ठूलो चुनौती देखिएको बताउनुभएको हो । बाढीको कारण प्रारम्भिक चरणमा त्रिशुली– ३ ए को आयोजनास्थल पहिचान गर्न नै मुस्लिक परेको उहाँले बताउनु भयो । बाढी र लेदोले संरचना पुरिएपछि सुरुङ तथा पावरहाउसको वास्तविक स्थान तत्काल पत्ता लगाउन मुस्किल भएको उहाँको भनाई छ । उहाँकाअनुसार बाढीपछि पहिलो चरणमा नेपाली सेना, आयोजनामा कार्यरत प्राविधिक तथा अन्य टोलीले पावरहाउस र सुरुङको स्थान पहिचान गर्ने प्रयास गरेपनि तत्काल सफल हुन सकेनन् । बाढीको दोस्रो दिन हेलिकप्टरमार्फत सर्वेक्षण टोली पठाएर त्रिशुली संरचना रहेको स्थान पहिचान गरिएको थियो । आयोजनास्थल आसपास रहेका दुई एक्साभेटरमध्ये एउटा सञ्चालनयोग्य भेटिएपछि हाल त्यसलाई प्रयोग गरी पुरिएको क्षेत्र खन्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । हाल उद्धारका लागि नेपाली सेना तथा सशस्त्र प्रहरीका टोली परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । भूमिगत पावरहाउस भएकाले सुरुङभित्र हावा सञ्चित रहेको र छुट्टै सुरुङमार्फत केही हावा आवतजावत हुन सक्ने भएकोले फसेका कामदार जीवितै रहेको हुनसक्ने उहाँको भनाई छ । त्रिशूली–३ बी जलविद्युत आयोजनाको अवस्था अझ गम्भीर रहेको उहाँले बताउनुभयो । उक्त क्षेत्र बाढीको लेदोले पूर्ण रूपमा पुरिएको छ । यस्तै खन्ने तथा उद्धार कार्यका लागि प्रवेश गर्ने स्थान पहिचान गर्न समेत कठिन भएको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘शुरुमा त हामीले पावर हाउस कहाँ पुरिएको छ भन्ने नै लोकेट गर्न सकेनौँ । त्यहाँ काम गर्ने साथीहरू, नेपाली सेना तथा अपरेसनमा रहेका साथीहरू गएर खोज्दा पनि पत्ता लगाउन सकिएन । भोलिपल्ट सर्भे टोली पठाएपछि मात्रै पावर हाउसको लोकेसन पत्ता लगाउन सकियो । भौतिक सम्पर्कका लागि हेलिकोप्टरबाहेक अर्को उपाय थिएन । सौभाग्यवश, त्यहाँ दुईवटा एक्साभेटर रहेछन् । तीमध्ये एउटा ल्याउन सकियो, अर्को बिग्रिएको रहेछ । त्यसपछि पारिपट्टि एक्साभेटर लगेर खन्ने काम भइरहेको छ । नेपाल आर्मीका करिब ४०–५० जना तथा सशस्त्र प्रहरी पनि परिचालन भएर उत्खननको काममा लागिरहनुभएको छ । एउटा आशाको कुरा के हो भने हाम्रो अन्डरग्राउन्ड पावर हाउस हो । त्यहाँ ट्रयाप्ड एयर हुन सक्छ । उत्पादन भएको बिजुली बाहिर लैजानका लागि छुट्टै टनेलमार्फत केही माथिबाट केबल लगिएको छ । त्यसका कारण त्यहाँबाट अलिअलि हावा पास भइरहेको हुनसक्छ र मानिसहरू जीवितै छन् कि भन्ने आशा छ । यदि बाहिरजस्तै पूरै फ्लडिङ भएको अवस्था हुन्थ्यो भने आशाको सम्भावना निकै कम हुन्थ्यो । त्रिशूली–३ बीमा त्यस्तै अवस्था देखिएको छ । त्यहाँ बाढीको लेदोले सबै कुरा पूरै पुरिएको छ । कहाँ खन्ने भन्ने ठाउँसमेत पत्ता लगाउन गाह्रो छ । तर उद्धारका प्रयासहरू भइरहेका छन् । सम्बन्धित कम्पनी र नेपाल विद्युत प्राधिकरणका साथीहरू सबै लागिरहनुभएको छ । त्रिशूली–३ ए को केसमा अन्डरग्राउन्ड पावर हाउस भएकाले हामीले बढी आशा राखेका हौँ । त्यो संरचना केही भित्र हुन्छ । बाढी आउँदा प्रवेशद्वारतर्फको भाग मात्रै बन्द भएको र भित्र हावा बाँकी हुन सक्ने भएकाले त्यहाँ मानिसहरू जीवित हुन सक्छन् ।’
उहाँकाअनुसार त्रिशूलीमा रहेको अरु आयोजनामा भने तुलनात्मक रूपमा पहुँच सहज भएकाले करिब ३५० जना कामदारलाई सुरुङबाट निकालिसकिएको छ । उहाँले विपद्पछि प्रारम्भिक चरणमै क्षतिको वास्तविक अवस्था र सुरुङभित्र फसेका व्यक्तिको संख्या यकिन गर्न नसक्दा ठुलो क्षति व्यहोर्नुपरेको बताउन ुभयो । विद्युत तथा सञ्चार संरचना अवरुद्ध हुँदा सूचना संकलन र उद्धारको कार्य नै बन्द हुन पुगेको उहाँको भनाई छ ।
राज्यसंग विपद्का लागि आवश्यक स्रोत, विशेषज्ञता र तत्काल परिचालन गर्ने प्राविधिक क्षमता नहुँदा पनि बढी क्षति भएको उहाँले बताउनु भयो । उहाँले विपद्का लागि आवश्यक विशेषज्ञता र स्रोत स्वदेशमा पर्याप्त नभए विदेशी सहयोग लिनुपर्नेमा जोड दिनुभयो । उहाँकाअनुसार विपद् व्यवस्थापनमा क्षतिको प्रारम्भिक आकलन, सूचना संकलन, उद्धार सामग्रीको व्यवस्थापन र विशेषज्ञ जनशक्तिको परिचालनलाई अझ प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।
उहाँले भन्नुभयो, ‘हामीसँग त्यस्तोस्तरको विपद्को आकलन र उद्धारका लागि आवश्यक विशेषज्ञता थियो कि थिएन भन्ने प्रश्न पनि उठाउँछ । त्यस्तो अवस्थामा आवश्यक स्रोत, विशेषज्ञता र उद्धार क्षमता समयमै व्यवस्थापन गर्न सकियो कि सकिएन भन्ने विषयमा समीक्षा गर्नुपर्ने देखिन्छ । विशेषगरी नदी बेसिनमा हाम्रो सीमामा छिरेदेखि त्रिशूलीसम्म भएको क्षति कल्पनाभन्दा बाहिरको छ । त्यसमा धेरै हाइड्रोपावर आयोजना र बस्तीहरू प्रभावित भएका छन् । हाइड्रो सेक्टरमा सुरुङभित्र मानिसहरू थुनिने अवस्था मात्रै होइन, भौतिक संरचनामा भएको क्षति र काम गरिरहेका कामदारहरू बाढीमा पर्ने अवस्था पनि देखिएको छ । यो अत्यन्त ठूलो र कल्पनाभन्दा बाहिरको क्षति हो । यस्तो किसिमको बाढीको क्षति हामी आफैँले व्यवस्थापन गर्न सक्छौँ भनेर पहिल्यै आकलन गर्न नसकेको पनि हुन सक्छ । त्यसैले कसैलाई दोष दिनेभन्दा पनि संरचनागत, स्रोतगत, क्षमता, ज्ञान र विशेषज्ञताको दृष्टिले हामी कहाँ कमजोर रहेछौँ भन्ने समीक्षा गर्न आवश्यक छ । पहिलो कुरा, क्षति अत्यन्त ठूलो छ । त्यसपछि क्षतिको आकलन गर्नुपर्छ । कहाँ के क्षति भएको छ, विशेषगरी मानवीय क्षति कति भयो र सुरुङभित्र कति मानिस छन् भन्ने जानकारी संकलन गर्नुपर्छ । यस्तो असहज परिस्थितिलाई व्यवस्थापन गर्न हामीलाई के–कस्ता स्रोत चाहिन्छ, के गर्नुपर्छ र कसरी योजना तथा व्यवस्थापन गर्ने भन्ने विषयमा पनि हाम्रा कमजोरी र सीमितता देखिएका छन् । यदि हामीले आफैँले गर्न सक्दैनौँ भने विदेशी सहयोग लिन पनि हिचकिचाउनु हुँदैन । यो नीतिगत विषय पनि हुनसक्छ ।’
प्राधिकरणले उद्धारसँगै बाढीका कारण अवरुद्ध विद्युत वितरण प्रणाली पुनः सञ्चालनमा ल्याउने कामलाई पनि तिब्रता दिएको छ । श्रेष्ठकाअनुसार नुवाकोट क्षेत्रमा काठमाडौंलगायतका क्षेत्रबाट वैकल्पिक व्यवस्था गरी विद्युत आपूर्ति सुचारु गरिसकिएको छ । रसुवाको बेत्रावती र स्याफ्रु क्षेत्रमा समेत विद्युत् प्रणालीलाई अलग–अलग रूपमा सञ्चालनमा ल्याउने काम भइरहेको उहाँले जानकारी दिनुभयो । सो क्षेत्रमा शनिवार साँझसम्ममा विद्युत वितरण प्रणाली पुनःस्थापित गर्ने लक्ष्य रहेको उहाँले बताउनु भयो । उहाँले ठूलो विपद्का बीच पनि त्रिशूली क्षेत्रमा करिव १२ देखि १६ घण्टामै वितरण प्रणाली सञ्चालनमा ल्याउन सफल भएको दाबी गर्नुभयो । –न्युज एजेन्सी नेपाल