प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले रुिवा बाढी र पहिरोले पु¥याएको क्षति तथा उद्धार कार्यका विषयमा प्रधानमन्त्री बालेन्द्र साहको ध्यानाकर्षण गराउनुभएको छ ।
शनिवार प्रधानमन्त्री निवासमा भएको भेटमा नेता आङदेम्बेले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा बाढीपहिराका कारण सिर्जित अकल्पनीय अवस्थाबारे प्रधानमन्त्रीलाई अवगत गराउनुभएको हो । प्रभावित क्षेत्रको स्थलगत अनुगमन र स्थानीय नागरिक तथा प्रशासनसँगको छलफलपछि नेता आङदेम्बेले प्रधानमन्त्रीलाई भेट्नुभएको हो । भेटका क्रममा उहाँले बाढी प्रभावित क्षेत्रका बासिन्दाको अवस्था र राज्यका तर्फबाट भइरहेका कार्यहरूबारे जानकारी गराउनु भयो । विशेषगरी रसुवास्थित अपर त्रिशूली आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारमा भइरहेको ढिलाइप्रति उहाँले चासो व्यक्त गर्नुभयो । उहाँले मौसम प्रतिकूल रहे पनि उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरी उद्धार कार्यलाई तिब्रता दिनुपर्नेमा जोड दिनुभयो । जवाफमा प्रधानमन्त्रीले प्रभावित क्षेत्रमा उद्धारका लागि पहल भइरहेको र छिट्टै कार्य अगाडि बढ्ने आश्वासन दिनुभएको नेता आङदेम्बेले सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अपर त्रिशूलीका तीनवटा सुरुङमध्ये एउटामा हिजोदेखि नै उद्धार शुरु भएपनि अन्य दुईवटामा खराब मौसमका कारण कठिनाइ भइरहेको छ । विपद् भएको तीन दिन भइसकेकाले उद्धारमा थप ढिलाइ भएमा सुरुङभित्र रहेकाहरूको जीवितै उद्धार गर्ने सम्भावना क्षीण हुँदै जानेतर्फ मैले प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराएको छु ।’
नेता आङदेम्बेले शुक्रवार मात्रै प्रभावित क्षेत्रको निरीक्षण गरी त्यहाँका पीडित परिवार र स्थानीय प्रशासनसँग वस्तुस्थितिबारे जानकारी लिनुभएको थियो । –न्युज एजेन्सी नेपाल