• News
  • गण्डकी र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि...

गण्डकी र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि अति भारी वर्षाको चेतावनी

गण्डकी र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि अति भारी वर्षाको चेतावनी

Climate News Nepal
मंगलवार, आश्विन ६ २०८३
  • काठमाडौं । आगामी शुक्रबार अर्थात् असोज ९ गते देखि असोज ११ गते आइतबारसम्म गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानमा अति भारी वर्षासमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    महाशाखाले मंगलबार अपराह्न जारी गरेको मनसुन विशेष मौसम बुलेटिन–३ अनुसार उक्त अवधिमा मध्य प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । कर्णाली प्रदेशका केही स्थानमा समेत भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

    महाशाखाका अनुसार देशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित भएको न्यून चापीय क्षेत्र क्रमशः पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै जाने क्रममा थप शक्तिशाली भएर गहिरो न्यून चापीय क्षेत्रमा परिणत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    यस प्रणालीको प्रभावका कारण बुधबारदेखि कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    सम्भावित भारी वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने महाशाखाले चेतावनी दिएको छ । शहरी तथा तराई क्षेत्रका सडक तथा स्थानहरूमा डुबानको जोखिम रहनुका साथै ठूला तथा साना नदी–नालामा पानीको सतह बढ्न सक्ने जनाइएको छ ।

    त्यस्तै, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटनलगायत नदी किनार आसपासका निर्माण कार्य तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

    महाशाखाले हालको अवस्थामा धानबाली भित्र्याउने समयसमेत रहेकाले सम्बन्धित किसानलाई मौसमसम्बन्धी जानकारी लिएर आवश्यक तयारी गर्न आग्रह गरेको छ । उच्च हिमाली भू–भागमा भारी हिमपात हुन सक्ने भएकाले पदयात्री तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउनसमेत अनुरोध गरिएको छ ।

    महाशाखाले मनसुन प्रणालीको निरन्तर अनुगमन गरिरहेको र सोहीअनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाबाट जारी हुने नियमित तथा थप विशेष मौसम सूचनामा ध्यान दिनसमेत आग्रह गरिएको छ ।

    लोकप्रीय

    © 2026 All right reserved to climatenewsnepal.org  | Site By : sobij