• News
  • विपद् प्रभावित स्थानीय तहमा २४ करोड...

विपद् प्रभावित स्थानीय तहमा २४ करोड ५० लाख मात्रै निकासा, कोषमा १८ अर्बभन्दा बढी मौज्दात

विपद् प्रभावित स्थानीय तहमा २४ करोड ५० लाख मात्रै निकासा, कोषमा १८ अर्बभन्दा बढी मौज्दात

Climate News Nepal
बिहिवार, कार्तिक १३ २०८३
  • प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पर्याप्त रकम मौज्दात रहेपनि भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् प्रभावित क्षेत्रमा न्युन रकम मात्रै निकासा भएको छ । 
    विपद् प्रभावित क्षेत्रका स्थानिय तहमा हालसम्म हालसम्म २४ करोड ५० लाख रुपैयाँ मात्रै उपलब्ध गराइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी १८ अर्ब २८ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको जानकारी दिनुभयो । तर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) मार्फत प्रभावित जिल्लाका स्थानीय तहहरूमा हालसम्म २४ करोड ५० लाख रुपैयाँ मात्रै उपलब्ध गराएको उहाँको भनाई छ । सो रकममध्ये १३ करोड ५० लाख रुपैयाँ भने स्थानिय तहमा नै पुगिसकेको उहाँले जानकारी दिनुभयो । राष्ट्रियसभा अन्तर्गतको भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा विपद् व्यवस्थापनका लागि उपलब्ध गराइएको रकम र कोषमा रहेको मौज्दातबारे जानकारी गराउँदै उहाँले जटिल कानूनी व्यवस्थाका कारण कोषको रकम निकासामा केही समस्या भएको बताउनु भयो ।
    उहाँले भन्नुभयो, ‘दुई कोषमा अहिलेसम्म १८ अर्ब २८ करोड ५ लाख ३२ हजार ५ सय ९३ यति रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब र प्रधानमन्त्री राहत कोषमा २६ करोड गरेर १८ अर्ब गरि यो रकम मौज्दात छ । यसमा दुइटा कोष भएको रकम हो यो, दुई वटा कोषलार्य एउटै बनाउनेगरि नीतिगत रुपमा छलफल गर्नुपर्ने अवस्था पनि छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सञ्चालन नियमावली २०६३ को नियम ६ बमोजिमको कोष सञ्चालन राष्ट्रिय योजना आयागको उपाध्यक्षको संयोजकत्वमा भएको समितिले गर्छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा २२ अनुसार कोषको रकम  एनडिआरआरएमएमार्फत खर्च गर्नुपर्ने हुन्छ । त्यो अनुसार हामीले १ अर्ब रुपैयाँ रकम निकासा गरेका छौँ  । उक्त रकम जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस अनुसार तत् तत् स्थानीय तहहरुलाई प्रदान गरिएको छ । जिल्लाको विपद् व्यवस्थापन कोषदेखि प्रदेशदेखि लिएर गएर केन्द्रको कोषसम्म आइपुग्दा खेरि चाहिँ एउटै लिङ्केजबाट काम हुने व्यवस्था रहेछ । हालसम्म एनडिआरआरएमएले प्रभावित जिल्लाका स्थानीय तहहरुलाई २४ करोड ५० लाख रुपैयाँ मात्रै उपलब्ध गराएको अवस्था छ । अहिले हेर्दा खेरि १३ करोड ५० लाख चाँही पालिकाहरुमा पुगिसकेको अवस्था देखिन्छ ।’
    उहाँकाअनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सञ्चालन नियमावली, २०६३ अनुसार कोष सञ्चालन तथा रकम परिचालन हुँदै आएको छ । कोषको रकम प्रदेश, जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन कोषमा हस्तान्तरण गर्ने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । कानूनी प्रक्रियाअनुसार एक अर्ब रुपैयाँ सम्बन्धित विपद् व्यवस्थापन कोषमा हस्तान्तरण गरिएको र जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसका आधारमा स्थानीय तहहरूलाई रकम उपलब्ध गराएको उहाँको भनाई छ । कोषमा रकम जम्मा हुने र खर्च हुने विवरण अनलाइन प्रणालीमार्फत अभिलेख राखिने भएकाले वित्तीय कारोबारको विवरण हेर्न सकिने उहाँले बताउनु भयो । कोषको रकम दुरुपयोग हुन नसक्ने उहाँको दाबी छ । कोषको दैनिक विवरण अद्यावधिक गर्ने गरिएको उहाँको भनाई छ । –न्युज एजेन्सी नेपाल

    लोकप्रीय

    © 2026 All right reserved to climatenewsnepal.org  | Site By : sobij