• News
  • जलवायु परिवर्तनको मुद्दा विद्यालयको अनिवार्य शिक्षाका...

जलवायु परिवर्तनको मुद्दा विद्यालयको अनिवार्य शिक्षाका रुपमा लागू गर्नुपर्छः वनमन्त्री ठकुरी

जलवायु परिवर्तनको मुद्दा विद्यालयको अनिवार्य शिक्षाका रुपमा लागू गर्नुपर्छः वनमन्त्री ठकुरी

Climate News Nepal
मंगलवार, माघ २२ २०८१

  • वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको मुद्दालाई पाठ्यक्रममा समावेश गरेर लैजाने प्रतिवद्धता जनाउनुभएको छ ।


    शनिवार काठमाडौंमा न्युज एजेन्सी नेपालले आयोजना गरेको जलवायु परिवर्तनमा युवाका भुमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । जलवायु परिवर्तनका मुद्दालाई विद्यालयको अनिवार्य शिक्षाका रुपमा पनि लागू गर्दै लैजानुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो । जलवायु परिवर्तनसम्बन्धी मुद्दाको बारेमा जानकारी दिन सरकारले पाठ्यक्रममा समेट्ने प्रक्रिया अघि बढाइसकेको जानकारी दिनुभयो । उहाँले जलवायु परिवर्तनका मुद्दाहरु वन तथा वातावरण मन्त्रालयले मात्रै बोकेर नसक्ने भन्दै तल्लो स्तरबाटै स्थापित गर्दै र जनचेतना फैल्याउँदै लैजान जरुरी रहेको बताउनु भयो । मन्त्री ठकुरीले सरकार युवाका मुद्दाहरुलाई गम्भीरताका साथ लिएर युवाहरुले उठाएका आवाजहरुलाई कार्यान्वयन गर्न अघि बढिरहेको बताउनु भयो । निकट भविष्यमै युवा नीति पास गर्ने तयारीमा रहेको जानकारी दिँदै मन्त्री ठकुरीले युवाका आवाज एकीकृत गरेर अगाडि बढ्न नेपाल सरकार तत्पर रहेको बताउनु भयो । मन्त्री ठकुरीले आगामी वर्षको बजेटमा जलवायु परिवर्तनको मुद्दामा युवाको सहभागिता र सक्रियतालाई अक्र बढी स्थान दिन प्रयास र पहल गर्ने दाबी गर्नुभयो ।
    मन्त्री ठकुरीले भन्नुभयो, ‘नेपाल सरकार वन तथा वातावरण मन्त्रालय युवाहरुका मुद्दाहरुलाई गम्भीरताका साथ लिइरहेका छौँ । युवाहरुका मुद्दाहरु, युवाहरुले उठाएका आवाजहरुलाई कार्यान्वयन गर्नका लागि हामीले अघि बढाइरहेका छौँ । युवाको संरचनागत हिसावले केन्द्रदेखि तल्लो स्थानीय तहसम्म पनि युवाहरुका आवाजहरु सुनिने, युवाहरुका मुद्दा स्थापित गर्नका लागि संरचना स्थापित भएका छन् । निकट भविष्यमै युवा नीति पास गर्न गइरहेका छौँ । त्यसका माध्यमबाट पनि यहाँहरुका आवाज एकीकृत गरेर अगाडि बढ्न नेपाल सरकार तत्पर छ । युवा सशक्तिकरणका लागि, युवालाई हरेक अवसरमा सहभागी गराउन नेपाल सरकार प्रयत्नरत छ । जलवायु परिवर्तनका कुराहरु केबल वन तथा वातावरण मन्त्रालय र अन्य सरोकारवालातिर भन्दा पनि यसलाई तल्लो स्तरबाट स्थापित गर्दै अब त जलवायु परिवर्तनका कुरा पाठ्यक्रममा पनि समावेश गरेर विद्यालयको अनिवार्य शिक्षाका रुपमा पनि लागू गर्दै लैजानुपर्ने अवस्था छ । त्यसको प्रक्रिया अघि बढाइरहेका छौँ । सबै पक्षमा हामी लागिरहेका छाँै । सबैको सल्लाह र सुझावका आधारमा आगामी दिनमा यसको प्रयासहरु गर्दै जानेछौँ ।’


    कार्यक्रममा बोल्दै गोरखापत्र संस्थानका महाप्रवन्धक लालबहादुर ऐरीले जलवायु परिवर्तनको मुद्दा पर्यावरणको मुद्दा मात्र नभइ सशक्तिकरणको मुद्दा पनि भएको बताउनु भयो । उहाँले जलवायु परिवर्तनले राजनीतिक, आर्थिक, सामाजिक, पहिचान, सांस्कृतिक लगायतका बहुविषयहरुमा सरोकार बताउनु भयो । उहाँले भविष्यको पुस्तालाई जलवायु परिवर्तनका मुद्दाका बारेमा जानकारी दिने उद्देश्यले मुद्दाबारे बहस र छलफल जरुरी रहेको बताउनु भयो । जलवायु परिवर्तनको मुद्दा जलवायु सम्मेलन (कोप) का लागि नभइ आफ्नो जीवनसँग जोडेर हेर्न जरुरुी रहेको बताउनु भयो ।  
    उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तनको मुद्दा सशक्तिकरणको मुद्दा पनि हो । जलवायु परिवर्तनको मुद्दा मात्र पर्यावरणको मुद्दा होइन । यसले बहुविषयहरुमा सरोकार राख्दछ । यो राजनीतिक, आर्थिक, सामाजिक, पहिचान, सांस्कृतिक मुद्दा पनि हो । जुन पुस्ताको भविष्य भोलि छ, हाम्रो आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारलाई पर्यावरणसँग जोडेर भोलिको पुस्तालाई पर्यावरणको सबै कुराको जानकारी दिनुपर्छ । हामी जलवायु परिवर्तनको कुरा कि कोपमा जानु भन्दा एक महिना अगाडि शुरु गर्दछौँ, की आइसकेपछि एक महिना, दुई महिना, तीन महिनासम्म गर्छौं । त्यसपछि सकियो । आधारभुत रुपमा यो कोपका लागि होइन । यो कुरा हाम्रो भविष्यसँग चिन्तित भएर गरिएको हो ।’

    महाप्रवन्धक ऐरीले जलवायु शिक्षाको बारेमा आम नागरिकलाई बुझाउन जरुरी रहेको उल्लेख गर्नुभयो । जलवायु परिवर्तनमा नेपालको सरोकार, समाज र व्यक्तिले गर्ने योगदानका बारेमा बुझाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । जलवायु परिवर्तनको मुद्दा माग्ने, दिने र प्राप्त गर्ने भन्दा नेपालले किन जलवायु परिवर्तनको मुद्दा उठाइरहेको छ ? भन्नेकुरा आम नागरिकलाई बुझाउन जरुरी रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

     

    लोकप्रीय

    © 2026 All right reserved to climatenewsnepal.org  | Site By : sobij