परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु कार्यका लागि सामुहिक प्रयास र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
भारतको विदेश मन्त्रालयले राजधानी नयाँ दिल्लीमा मंगलबार गरेको राइसिना डायलगको जलवायु परिवर्तन सम्बन्धी सत्रलाई सम्बोधन गर्दै उहाँले पछिल्लो दिनहरुमा जलवायुजन्य विपद्का घटना बढ्दै गएको सन्र्दभमा यसको प्रभाव न्यूनीकरणका लागि सामुहिक सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले नेपाल र नेपाल जस्ता विकासशील देशहरुले जलवायुजन्य विपद्बाट ठूलो क्षति व्यहोरिरहेको उल्लेख गर्दै प्रभाव न्यूनीकरणका लागि बैश्विक सहकार्य आवश्यक रहेको बताउनुभयो । जलवायुजन्य विपद्का घटनाहरुबाट क्षति व्यहोरिरहेका मुलुक मध्ये नेपाल पनि अग्रपक्तिमा रहेकाले आफुहरुले विश्वमञ्चहरुमा जलवायु न्यायको कुरा गर्दै आएको उल्लेख गर्नुभयो । जलवायु परिवर्तनको असरले नेपालजस्ता हिमाल तथा पहाड भएका देशलाई मात्र नभएर सिंगो विश्वलाई नै असर गर्ने भएकाले सबै देशहरुले साझा एजेण्डाका साथ सामूहिक सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको हो ।
मन्त्री डा राणाले कार्यक्रममा गत वर्षको सेप्टेम्बरमा जलवायुजन्य विपद्बाट नेपालको मानविय र भौतिक संरचनामा ठूलो क्षति व्यहोर्नुपरेको दृष्टान्त प्रस्तुत गर्दै जलवायु न्यायको लाई सबैको ध्यानाकर्षण गराउनुभयो ।
सेप्टेम्बरको भिषण बर्षा र बाढीले पिउने पानी, सडक, ऊर्जा, सिँचाइ, पूर्वाधारहरु तथा कृषि क्षेत्रमा ठूलो क्षति पुगेको उल्लेख गर्दै उहाँले जलवायु वित्तमाथिको पहुँचका सम्बन्धमा नयाँ स्वरुपमा सोच्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो ‘अहिले विश्व नयाँ ढंगले अघि बढिरहेको छ । मलाई लाग्छ, अब परम्परागत दाताहरुबाट त्यसैगरी अनुदान तथा सहयोग नआउन पनि सक्छ, त्यसैले अब नयाँ ढंगले सोच्नुपर्ने बेला आएको छ ।’
जलवायु जन्य विपद्बाट हुने क्षति न्युनीकरणका लागि पूर्व सुचनाको महत्व रहेको भन्दै उहाँले बर्षा, बाढी पहिरो तथा अन्य प्राकृतिक प्रकोपहरुको पूर्व सूचना प्रभावकारी बनाउन उच्चस्तरीय प्रविधि आवश्यक रहेको उल्लेख गर्नुभयो ।