• News
  • पाच वर्षभित्र विपद् उत्थानशिल नेपाल बनाउने...

पाच वर्षभित्र विपद् उत्थानशिल नेपाल बनाउने मिसनमा छुः कार्यकारी प्रमुख दिनेश भट्ट

पाच वर्षभित्र विपद् उत्थानशिल नेपाल बनाउने मिसनमा छुः कार्यकारी प्रमुख दिनेश भट्ट

बुधवार, चैत्र ५ २०८१

  • राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले पाँच बर्ष भित्र विपद् उत्थानशिल नेपाल बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।


    नेपाल बहुप्रकोपिय विपद्को जोखिममा रहेकाले विपद् उत्थानशिल बनाउन कार्य ढाँचालाई नै परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको पनि उहाँले उल्लेख गर्नुभयो । मंगलवार कार्यकारी प्रमुखको पदभार सम्हाल्नुभएका भट्टले बुधवार न्युज एजेन्सी नेपालसँग आफू ‘डिजास्टर रेजिलेन्स नेपाल’ बनाउने अभियानमा प्रतिवद्धत रहेको बताउनुभएको हो । प्राधिकरणलाई स्थानीय तहसम्म बलियो बनाउने गरी आफूले काम गर्ने पनि उहाँले स्पष्ट पार्नुभयो । स्थानीय सरकारलाई बलियो बनाउन टोल टोलमा स्वयंसेवक तयार गर्न प्राधिकरणले शुरु गरेको कामलाई बिस्तार गर्दै लैजाने पनि उहाँले बताउनु भयो । ऐनले निर्देशन गरेको र दिएको अधिकारक्षेत्रभित्रै रहेर आफूले संयोजनकारी भुमिका निर्वाह गर्ने पनि उहाँले उल्लेख गर्नुभयो । 

    उहाँले भन्नुभयो, ‘ऐनले प्राधिकरणलाई अधिकार दिएको छ । नियमावलीले पनि दिएको छ । केही कुरामा गृह मन्त्रालयको मार्फत भन्ने शब्द छ । त्यो हुँदा कोर्डिनेशन ढिलो हुने र कोर्डिनेशन ढिलो हुँदा परिचालन ढिलो हुने स्थिति छ । त्यसका लागि नीतिमा, ऐनमा भएको कुरालाई व्यवहारमा कार्यान्वयन गर्ने भनेको कतिको उनीहरुसँग कोर्डिनेशन गर्नुहुन्छ, कतिको एप्रोच छ ? त्यसमा पनि पहल गर्नेछौँ । २०२९ सम्म नेपाललाई डिजास्टर रेजिलेण्ट नेपाल बनाउने मिसनका साथ म आएको छ । हामीले धेरै सेक्टरमा काम गर्नुछ । बिहान, राति, दिउँसो नभनिकन काम गर्नुपर्ने ठाउँ हो यो । म पूरै मेहनत गर्नेछु । स्थानीय सरकारलाई बलियो बनाउँछु, टोलमा स्वयंसेवक तयार पार्ने काम गर्छु ।’

    आफूले विपद् पूर्वतयारीको विषयलाई प्राथमिकतामा राखेर काम अघि बढाउने उहाँले उल्लेख गर्नुभयो । उहाँले आवास पुनःनिर्माणको कामलाई सिधै लाभग्राहीको खातामा रकम जम्मा हुनेगरी काम गर्ने पनि बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘विपद् न्युनिकरणमा धेरै काम गर्न सकिएको छैन । जहिले पनि हामी चेपुवामा भएको देशमा छाँै । डिजास्टर भइसकेपछि राज्यले थाहा पाउने, रेस्क्यु गर्ने र अस्थायी बसोवास गर्ने अप्रोचमा हामी थियौ । बिस्तारै पूर्वतयारीमा जानुपर्छ । यो अप्रोचमा काम गर्ने हो । केही मात्रामा पूर्वतयारीका कामहरु भएका छन् । हामीले गोरखा भुकम्पको पुनःनिर्माण सम्पन्न गरेका छौँ । तर केही मात्रामा अझै पनि पुरातत्विक महत्वका संरचना बन्न बाँकी छ । विपद् त आउँछ, विपद्का कारणले हुने क्षति रोक्ने हो । त्यसका लागि पूर्वतयारीमा ध्यान दिनुपर्छ । पूर्वतयारीका सन्दर्भमा हामीले सोच्दा स्थानीय बासिन्दा हो । खतरा भएको ठाउँमा हुनसक्ने क्षति न्युनिकरण गर्न पूर्वतयारी गर्नुपर्छ । स्थानीय सरकारले टोलस्तरमा नै पूर्वतयारीका लागि एउटा टिम गठन गरेर अघि बढ्ने हो भने पूर्वतयारीको काम सम्पन्न हुन्छ । स्थानीय सरकारलाई बलियो बनाउनु पर्छ । पूर्वतयारीका हिसावमा स्थनीयमा भएको पनि टोललाई बलियो बनाउनु पर्छ । बजेट केन्द्रले चलाउने होइन । सरकारले प्राविधिक सहयोग गर्ने हो, घर कसैको भत्किएको छ भने व्यक्तिकै खातामा पैसा पठाउनुपर्छ । त्यसले आफ्नो घर आफैँ बनाउँदा बलियो बनाउँछ । लाभग्राहीकै खातामा पैसा जाने गरी पुनःनिर्माणको प्रक्रियामा जानुपर्छ । तर क्षति नै हुन नदिनका लागि हामीले काम गर्नुपर्छ ।’

    भट्टलाई सोमवार बसेको मन्त्री परिषद् बैठकले प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्ति गरेको हो । उहाले हिजो मंगलवार नै आफ्नो कार्यभार सम्हालिसक्नुभएको छ ।— न्युज एजेन्सी नेपाल

    लोकप्रीय

    © 2026 All right reserved to climatenewsnepal.org  | Site By : sobij